जेठ २०, २०७९ शुक्रबार

काठमाडौं- आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनको फराकिलो अन्तरले पराजित गरेको छ। 

मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनायो। नेपालका लागि आशा पुलामी मगरले नटआउट ३२ रन बनाउँदा सृस्टी जैशीले नटआउट २३ रनको योगदान गरिन्।  सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ रन बनाइन्। ओपनर किरणकुमरी कुँवर भने एक रन बनाएर आउट भइन्। 

११८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको कतार ३८ रनमा अलआउट भयो। उसका लागि साची दधवाल र श्रुतिवेन कमलेशभाइ रानाले समान १४ रन बनाउनुबाहेक अन्य कुनै व्याट्स्म्यानले दोहोरो अंक बनाउन सकेनन्। कतारका ७ खेलाडी शून्यमा आउट भए। 

कतारलाई सस्तैमा समेटन सृष्टी जैशीले ३ तथा अनु कडायत, कप्तान कृतिका मरासिनी र स्नेहा महराले समान २÷२ विकेट लिए। खेलको वुमन अफ द म्याच आशा पुलामी बनिन्। 

नेपालले दोस्रो खेल भोलि युएईविरुद्ध खेल्नेछ।  

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। शीर्ष टोलीले दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्न पाउने छ।