काठमाडौं- यू–१९ आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट क्रिकेटमा नेपाल र भुटानबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको किनरारा ओभलमा भुटानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गरिरहेको छ।
यसअघि एउटा खेलमा जित र अर्को खेलमा हार व्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा मैदान उत्रिँदैछ। पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको १९ वर्ष मुनीको महिला टोली दोस्रो खेलमा युएईसँग ८ रनमा अलआउट भएको थियो। भुटानले भने यसअघिका दुवै खेलमा हार व्यहोरेको छ। नेपाल २ खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा रहँदा अंकविहीन भुटान तालिकाको पुछारमा छ।
छनोट खेलमा नेपालसहित, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। नेपालले अब भोलि थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्ने तालिका छ।