जेठ २४, २०७९ मंगलबार

काठमाडौं: आईसीसी यू- १९ महिला विश्वकप अन्तर्गत एसिया छनोट अन्तर्गत भुटान विरुद्धको खेलमा नेपाल विजयी भएको छ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत नेपालले सोमबार भुटानविरुद्व ४ विकेटको जीत दर्ता गर्‍यो।

प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। यसअघि नेपालले कतारलाई ७९ रनले हराएको थियो। नेपाल दोस्रो खेलमा युएईसँग भने एतिहासिक रुपमा लज्जास्पद प्रदर्शन गर्दै  १० विकेटले पराजित भएको थियो।

नेपाल विरुद्व भुटानले पहिलो ब्याटिङ गर्दै ६७ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले उक्त लक्ष्य १३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि सानु राजवंशीले अविजित  ३० रनको योगदान दिएकी थिइन्। उनले ३२ बल खेल्दै ५ चौका प्रहार गरिन्। त्यस्तै सना प्रवीनले १२ रन बनाउँदा सृष्टि जैसीले ८, आश्मा पुलामी मगरले ३,  किरणकुमारी कुवँर र कप्तान कृतिका मरासिनीले समान २(२ रन जोडे।

भुटानकी साङमे वाङमोले तीन विकेट लिएकी थिइन्।

यसअघि टस जितेर पहिले ब्याटिङका लागि आएको भुटानले निर्धारित २० ओभरमा नौ विकेट क्षतिमा ६६ रनको योगफल तयार गरेको थियो। भुटानका लागि नवाङ छोडेन र वाङमोले समान ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

भुटानलाई सस्तैमा समेट्ने क्रममा मनिषा कुमारी उपाध्याय, अनु कडायत र कप्तान कृतिका मरासिनीले समान २-२ विकेट लिए। त्यस्तै स्नेहा महराले १ विकेट हात पारेकी थिइन्।