आइसिसी यू-१९ महिला टी-२० विश्वकप एशिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। मलेसियामा जारी प्रतिस्पर्धामा नेपाल मंगलबार थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो।
मलेसियाको युकेएम ओभलमा भएको यो हारसँगै नेपाली किशोरी टीमको विश्वकप खेल्ने सपनाको औपचारिक अन्त्य भएको छ। अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ। छनोटको शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछ।
थाइल्याण्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ५ ओभरमा अलआउट हुँदै ४० रनमा समेटिएपछि नेपालले दोस्रो फराकिलो हार भोगेको छ। नेपालका लागि सृष्टी जैशीको नटआउट ७ रन सर्वाधिक रनका रुपमा रह्यो। साना प्रविनले ६, अनु कडायतले ५ रन जोडिन्। कृतिका मरासिनीले ३ रन बनाउँदा अन्जली विश्वकर्माले ३ रन र मनिषा कुमारी उपाध्याय पनि ३ रनमा आउट भइन्। रन्जु श्रेष्ठले १ रन बनाउँदा स्नेहाले १ रन जोडिन्।
थाइल्याण्डकी नन्थिता बोसुखामले ३ विकेट लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो। थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले २० रन जोड्दा बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रन बनाइन्।
नेपालकी मनिषा कुमारी उपाध्याय र कप्तान कृतिका मरासिनीले समान २(२ विकेट लिएकी थिइन्। स्नेहा महराको नाममा एक विकेट रह्यो। नेपालको यो दोस्रो हार हो। यसअघि नेपाल युएईसँग १० विकेटले पराजित भएको थियो। नेपालले ४ खेलमा ४ अंक जोडेको छ। नेपाल तेस्रो स्थानमा रहेको छ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। तर दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराउँदा चौथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित हुन पुग्यो। थाइल्याण्ड ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।