जेठ २४, २०७९ मंगलबार

हिमालयन डिष्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ । 

सोही क्रममा डिष्टिलरीले आर्थिक वर्ष २०७७र७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकममध्येबाट समता शैक्षिक गुठीलाई २५ लाख रूपैयाँ सहयोग गरेको छ । 

समता शैक्षिक गुठीद्वारा देशभर ८४ वटा विद्यालयहरू सञ्चालित छन् । जसमा कक्षा १ देखि स्नातकोत्तरसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालित छन् र करीब ७० हजार विद्यार्थी लाभान्वित भएको गुठीको दाबी छ । 

यो गुठीले प्रतिविद्यार्थी प्रतिमहिना १०० रूपैयाँ मात्र शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूका सन्तान, टुहुरा तथा सडक बालबालिकाहरूलाई अध्यापन गराइरहेको जानकारी गराएको छ ।

समता शैक्षिक गुठीलाई एक कार्यक्रम बीच हिमालयन डिष्टिलरी लिमिटेडका सञ्चालक समिति अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको उपस्थितिमा गुठीका संस्थापक उत्तमकुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई २५ लाखको चेक हस्तान्तरण गरे । 

सहयोग रकम कम्पनीको सम्पर्क कार्यालय, जावलाखेल ललितपुरमा हस्तान्तरण गरिएको थियो । 

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद पोखरेल र कम्पनी सचिव निशा निरौलाको पनि उपस्थिति थियो ।