जेठ २४, २०७९ मंगलबार

काल्पनिक तस्बिर

काठमाडौँ : प्रहरीले चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित नुवाकोट विदूर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिकसहित ५ जनालाई मंगलबार बिहान  पक्राउ गरेको छ। 

नुवाकोटबाट काठमाडौँतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाइछिपाइ ल्याएको उक्त नगद फेला पारी चालक गुरुङलगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले रकमसहित चिनियाँ नागरिकहरू पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार थप अनुसन्धानका लागि उनीहरूलाई सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको छ।