जेठ २५, २०७९ बुधबार

एजेन्सी । लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा साधना (४० वर्ष) आफ्ना १६ वर्षीय छोरा र १० वर्षीया छोरीसँग बस्दै आएकी थिइन् । छोराले मंगलबार राति बुबा नवीनलाई भिडियो कल गरेर आमाको हत्या गरेको बताए । उनले बुवालाई शव पनि देखाए ।

नवीनले आफन्तलाई बोलाएर तुरुन्तै घर पठाए । प्रहरी पुगेपछि घरभित्रको अवस्था देखेर छक्क परे । एडीसीपी काशिम अब्दीका अनुसार छोरालाई मोबाइलमा गेम खेल्ने बानी थियो तर साधनाले उनलाई गेम खेल्नबाट रोकिन् । शनिबार राति पनि उनले छोरालाई खेल खेल्न निषेध गरेकी थिइन् । यो देखेर छोरा रिसाए । राति करिब २ बजेतिर साधना गहिरो निद्रामा थिइन्, उनले कपाटबाट बुवाको पेस्तोल निकालेर आमाको हत्या गरेका हुन् । त्यसपछि बहिनीलाई धम्की दिएर सोही कोठामा थुने ।

मंगलबार राति प्रहरीले बाहिरी गेट खोल्दा घर भित्रबाट असह्य गन्ध आएको थियो । नाकमा रुमाल बाँधेर प्रहरी भित्र पसेपछि साधनाको कुहिएको शव ओछ्यानमा पल्टिएको थियो । शव यति कुहिएको थियो कि अनुहार चिन्न गाह्रो भएको थियो। साधनाकी १० वर्षीया छोरी पनि त्यही कोठामा रुँदै थिइन् । बहिनीकै अगाडि छोराले आमालाई गोली हानेको प्रहरीले जनाएको छ । जसका कारण उनी यति त्रसित भइन् कि भाइको आदेशमा आमाको शवसँगै सुतेकी थिइन् ।

साधनाको शव नजिकै प्रहरीले नवीनको लाइसेन्सको पेस्तोल फेला पारेको छ । पेस्तोलको म्यागजिन पूरै खाली थियो। छोराले आमामाथि ६ वटा म्यागजिन गोली हानेको अनुमान गरिएको छ । तर, शव कुहिएकाले शरीरमा गोलीका निशानहरू देखिएनन् । प्रहरीले छोरालाई धेरै सोधपुछ गरे तर कति गोली चलाएको हो भन्न सकेन । यसका लागि प्रहरीले पोष्टमार्टम रिपोर्ट पर्खिरहेको छ ।

घटनाको बारेमा छोराबाट जानकारी लिनेबित्तिकै उसले पहिला झुक्याउन थालेको प्रहरीले जनाएको छ । बिजुलीवाला घर आएको बताए । उसले आमाको हत्या गरेको हो तर धेरै सोधपुछ पछि पूरा कुरा बाहिर आयो । छोराले हत्या गरेको स्वीकार गरेका छन् ।

तीन दिनमै शव कुहिएपछि छोराले बाबुलाई भिडियो कल गरेर हत्याको घटना बताए । त्यसपछि बाबुको सूचनामा प्रहरी र आफन्त पुगेका थिए ।

अहिले प्रहरीले छोरालाई आफ्नो सुरक्षामा लिएर १० वर्षीया छोरीलाई नवीनका भाइलाई बुझाएको छ ।