काठमाडौँ । गोरखाको गोरखा नगरपालिका–२ मा दृष्टिविहीनहरू अहिले क्रिकेट खेल्न सिक्दै छन् । गोरखा हरमटारी खेलकुद मैदानमा त्रिकेटको अभ्यास गर्न मनीषा रानामगर पुगेकी छिन् ।
उनी क्रिकेट खेल अभ्यासका लागि खेलकुद मैदान पुगेकी छिन् । मनीषाले पहिलो दिन ब्याट समात्न र बलिङ गर्न सिकिन् । यसअघि उनले क्रिकेटबारे थाहा पाए पनि गहिरिएर अध्ययन गरेकी थिइनन् ।
पहिलो दिनको अभ्यासले हौसिएकी उनी त्रिकेटका हरेक विषयमा प्रशिक्षकसँग रुचि राखेर सोध्छिन् । अभ्यासमा पनि उनी तल्लीन छिन् ।
पहिलो दिन आइतबारको क्रिकेट अभ्यासमा २९ जना दृष्टिविहीन सहभागी थिए । बलिङ र ब्याटिङ गर्ने तरिका सिक्दै गर्दा दृष्टिविहीनलाई खेलक्षेत्रप्रति हौसला थपेको छ । अभ्यासमा सहभागी हुन पाउँदा खुसीसँगै खेलक्षेत्रमा केही गर्ने भावना जागेको पालुङटार नगरपालिका–५ हवाई ग्राउन्डकी मीना भुजेलले बताइन् ।
अपांगता भएकालाई खेलकुदमा अगाडि बढाएर राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा परिचित गराउन पनि यस्ता अभ्यासले सघाउने नेत्रहीन संघ गोरखाका सचिव परशुराम भट्टले बताए ।
गोरखा हरमटारी खेलकुद मैदानमा जेठ २६ गतेसम्म दृष्टिविहीनले क्रिकेटको अभ्यास गर्नेछन् ।