नौ कारोबारदिन लगातार घटेको शेयरबजारमा बुधबार सुधार देखिए पनि त्यसले निरन्तरता पाउन सकेन ।
बुधबार ६० अंकले बढेको नेप्से बिहीबार अडिन नसक्दा १७ अंकले घट्न पुगेको हो । बिहीबार नेप्से सूचक १७.५८ अंकले घटेर २०६२.८६ अंकमा आइपुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.९९ अंकले घटेर ३९६.३९ अंकमा आइपुगेको छ ।
निरन्तर घटिरहेको शेयरबजारले हिजो ब्रेक लिँदा आज लगानीकर्ताहरू स्टपलस गर्नतर्फ लागेको देखिन्छ । जसले गर्दा बजार अस्थिर बन्दै राताम्मे बन्न पुग्यो । आज कारोबारमा आएका २ सय २९ कम्पनीको ४१ लाख ५६ हजार कित्ता शेयर १ अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको छ ।
बुधबार उपसमूह सबै हरियो बनेको थियो भने बिहीबार सबै समूहका सूचक ओरालो लागेर राताम्मे भएका छन् । जसमा विकास बैंक, वित्त समूहको २ प्रतिशत माथिले सूचक घटेको छ । यता बजार घटे पनि उपकार लघुवित्तको शेयरमूल्य भने १० प्रतिशतले बढेको छ । बलेफी हाइड्रोको पनि सर्किट लेबलमै मूल्य बढ्न पुगेको छ । घट्नेमा भने नेपाल इन्भेस्टमेन्ट बैंकको प्रमोटर शेयर अगाडि छ । यसको ६ प्रतिशतले शेयरमूल्य घटेको छ ।
कारोबारमा भने कुमारी बैंक अगाडि छ । यो कम्पनीको ६ करोड ७४ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो ।