चैत १७, २०७७ मंगलबार

ललितपुर महानगरपालिका–१४ को नख्खुमा कृषकले पालेका पशुपन्क्षीमा बर्ड फ्लु देखिएको छ।

पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले नख्खुमा हाँस, कुखुरा तथा बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको जानकारी दिए।

नेपालमा यस वर्ष बर्ड फ्लु देखिएको यो छैटौँ पटक हो। यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौँको तारकेश्वरको तीन ठाउँमा बर्डफ्लु देखिएको थियो।

बर्ड फ्लु पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि संघ, प्रदेश र स्थानीय तहबाट दक्ष जनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिसकेको ढकालले जानकारी दिए।

उक्त क्षेत्रका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ।