काठमाडौँ — थाइल्यान्डमा प्रतिबन्धित लागूऔषधको सूचीबाट हटाएर गाँजा खेती र यसको बिक्री वितरणलाई वैधानिकता दिइएसँगै अब सर्वसाधारणले गाँजा खेती गर्न पाउने भएका छन् ।
साथै उनीहरूले यसको बिक्री वितरणमा समेत संलग्न हुने पाउनेछन् । लागूऔषधसम्बन्धी कडा कानुन भएको मुलुकमध्येको एक थाइल्यान्ड औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजालाई अनुमति दिने एसियाकै पहिलो देश बनेको छ ।
तर नसाका लागि भने सेवन गर्न प्रतिबन्ध कायम नै छ । नसाका लागि पनि पूर्ण रूपमा अनुमति दिने मुलुकहरू भने उरुग्वे र क्यानडा हुन् ।
थाइल्यान्डको सार्वजनिक स्वास्थ्य मन्त्रालयले करिब १० लाख गाँजाका बिरुवा सर्वसाधारणलाई बाँडिने बताएको छ । गाँजालाई वैधानिकता दिएसँगै थाइल्यान्डमा कृषि र पर्यटन क्षेत्र उकासिने सरकारको आशा छ । थाइल्यान्डका उप्रधान तथा स्वास्थ्यमन्त्री अनुतिन चार्नविराकुलले गाँजालाई वैधानिकता दिएसँगै सर्वसाधारणको आयआर्जन बढ्ने बताउँछन् । स्थानीय कार्यालयमा दर्ता गरेर अब प्रत्येक घरमा ६ वटा गमलामा गाँजा रोप्न पाइनेछ भने कम्पनीहरूले पनि फार्मकै रूपमा उत्पादन गर्न पाउनेछन् ।
गाँजा मिसाइएका परिकार र पेय पदार्थ पनि रेस्टुराँहरूमा उपलब्ध हुने बताइएको छ । त्यस्तै मुलुकमा रहेका क्लिनिकहरूले पनि चिकित्सकीय प्रयोगका लागि गाँजा प्रयोग गर्न पाउनेछन् । सन् २०१८ मै थाइल्यान्डले चिकित्सकीय प्रयोगका लागि गाँजा प्रयोगलाई वैधानिकता दिएको थियो ।
सरकारले यसअघि गाँजासम्बन्धी कारोबारमा पक्राउ परेका करिब ४ हजार जनालाई रिहा गर्ने प्रक्रिया सुरु गरेको पनि बीबीसीले उल्लेख गरेको छ ।