जेठ २७, २०७९ शुक्रबार

युगाण्डामा कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परेको भन्दै संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले सहयोगका लागि आह्वान गरेका बताइएको छ ।

युगाण्डामा रहेका राष्ट्रसंघीय एजेन्सीहरूले बुधबार सो आह्वान गरेको बताइएको छ । युगाण्डाको उत्तर पश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या भएको हो । राष्ट्रसंघीय एजेन्सीहरूका अनुसार यहाँ प्रतिदिन खाद्यान्नको अभाव हुदै गएको र यहाँ अहिले महिनामा कम्तीमा पनि तीन दिनका लागि कुनै पनि खाद्यान्न नहुने गरेको पाइएको हो ।

यहाँ केही समयदेखिको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ । यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरू देखिएका राष्ट्रसंघीय अधिकारीहरूले बताउँदै आएका थिए । युगान्डास्थित राष्ट्रसंघीय अधिकारीहरूले यहाँका बालबालिकामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको  अभाव पनि बढ्दै जाने देखिएको बताएका छन् ।  

यहाँको यो अवस्थाका बारेमा सरकार र राष्ट्रसंघीय अधिकारीहरूले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव हुने र नागरिकहरू कुपोषणको शिकार हुने अवस्था रहेको जनाएका छन् ।