अमेरिकाको टेक्सासमा शुक्रबार बिहान सकिएको आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरूद्धको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको ओमानलाई नेपालले ८ विकेटको क्षतिमा २११ रनमै रोकेको थियो। ओमानलाई सामान्य योगफलमा रोक्के क्रममा करण केसीले कीर्तिमानी बलिङ गरे।
करणले एकदिवसीय खेलमा पहिलो पटक पाँच विकेट लिन सफल भए। उनले १० ओभरमा ५ विकेट लिँदा ३८ रन खर्चिए।
करण नेपालका लागि एकदिवसीय खेलको एकै इनिङ्ग्समा पाँच वा बढी विकेट लिने तेस्रो खेलाडी हुन्।
यसअघि सोमपाल कामीले नेपालका लागि एकदिवसीय खेलमा पहिलो पटक पाँच विकेट लिने इतिहास रचेका थिए। सोमपालले सन् २०१९ मा युएईविरूद्ध ५५ विकेट लिँदा ३३ रन खर्चिएका थिए।
कप्तान सन्दीप लामिछानले भने एकै इनिङ्ग्ग्समा दुई पटक ६ विकेट लिएका छन्। सन् २०२१ मा ओमानमा भएको खेलमा पिएनजीविरूद्ध सन्दीपले ६ विकेट लिँदा ११ रन मात्र दिएका थिए। यो नेपालका लागि एकदिवसीय खेलमा अहिलेसम्मकै उत्कृष्ट बलिङ हो। त्यसअघि उनले २०२० मा अमेरिकाविरूद्ध घरेलु मैदानमा ६ विकेट लिँदा १६ रन खर्चिएका थिए।
शुक्रबार पाँच विकेट लिएसँगै करण नेपालका लागि टी-२० र एकदिवसीय दुवै फर्म्याटमा एक इनिङ्ग्ग्समा पाँच विकेट लिने पहिलो खेलाडी बने।