अस्ट्रेलियाका वैज्ञानिकहरूले "सुपरवर्म" को सङ्ज्ञा दिइएको जोफोबास मोरियो नामक पोलिस्टाइरीन खाएर बाँच्न सक्ने एक किसिमको खपटेकीराको लार्भा पत्ता लगाएका छन्।
प्लास्टिक खान रुचाउने त्यस लार्भाले फोहोर रिसाइक्लिङ गर्न र प्रदूषण घटाउन सघाउने अनुसन्धानकर्ताहरूले आशा व्यक्त गरेका छन्।
उनीहरूका अनुसार उक्त लार्भाको पेटमा हुने विशेष प्रकारको एन्जाइम (पाचनरस) ले प्लास्टिक पचाउन सहयोग गर्छ।
उक्त अध्ययनमा संलग्न एक अनुसन्धाताका अनुसार यसले पुन:प्रयोगको प्रयास अघि बढाउन ठूलो सहयोग गर्न सक्छ।
कसरी पत्ता लाग्यो
यूनिभर्सिटी अफ क्वीन्सल्यान्डका अनुसन्धानकर्मीहरूले तीन समूहमा राखिएका सुपरवर्मलाई तीन सातासम्म छुट्टाछुट्टै आहारा दिएका थिए।
पोलिस्टाइरीनको खाना दिइएका लार्भाको तौल बढेको उनीहरूले पाए।
उनीहरूले सुपरवर्मको पेटमा पोलिस्टाइरीन र स्टाइरीन पनि गलाउन सक्ने धेरै एन्जाइम भएको पत्ता लगाए। रेस्टुराँले बेच्ने खानेकुरा राख्न प्रयोग गरिने टेकअवे कन्टेनर र इन्सुलेशन तथा कारका पाटपुर्जा बनाउन पनि पोलिस्टाइरीन र स्टाइरीन चाहिन्छ।
अब के गर्न सकिन्छ
यस अनुसन्धानले प्लास्टिक रिसाइकल गर्ने कारखानाका रूपमा काम गर्न सक्नेगरी ती कीराको खेती गर्न सघाउँदैन।
यद्यपि वैज्ञानिकहरूले ती कीराको पेटमा हुने सर्वाधिक प्रभावकारी जैविक रस चिन्ने प्रयास गर्ने छन्। त्यसबाट प्लास्टिक रिसाइक्लिङका लागि प्रयोग गर्न मिल्नेगरी ठूलो परिमाणमा ती जैविक रसको उत्पादन गर्न सकिने छ।