नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको ‘एनएसजेएफ फुटसल फेस्टिभल’को उपाधि टीम क्यानडाले जितेको छ ।
ललितपुरको च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा शुक्रवार भएको प्रतियोगिताको फाइनलमा टीम अमेरिकालाई पेनाल्टी सुटआउटमा २–१ गोलअन्तरले हराउँदै टीम क्यानडा च्याम्पियन बनेको हो । निर्धारित र थप गरिएको समयमा ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो ।
पेनाल्टीमा टीम क्यानडाका अभिनव जोशी र वासु अवालले गोल गरे तर मुना कार्की भने पेनाल्टीमा गोल गर्नबाट चुकिन् । टीम अमेरिकाका निशान राईले पेनाल्टीमा गोल गर्दा दिल तामाङ र गीता राईले भने गोल गर्न सकेनन् ।
पेनाल्टी अघि टीम क्यानडाका अभिनव जोशीले २ र बासु अवालले १ गोल गरे । टीम अमेरिकाका दिल तामाङले २ तथा सुजन श्रेष्ठले १ गोल गरेका छन् ।
४ टोली सहभागी प्रतियोगितामा टीम अमेरिका ३ खेल जित्दै शीर्ष स्थानमा पुगेको थियो । टीम क्यानडा ३ खेलमध्ये २ खेलमा जीत हासिल गर्दै फाइनल पुगेको थियो । १ दिने प्रतियोगिताको लिग चरणअन्तर्गत पहिलो खेलमा टीम अमेरिकाले टीम क्यानडालाई ६–३ गोलले हराएको थियो ।
दोस्रो खेलमा टीम मलेसियाले टीम अस्ट्रेलियालाई ३–१ गोलले पराजित गरेको थियो । तेस्रो खेलमा टीम अमेरिकाले टीम मलेसियालाई ४–२ गोल अन्तरले हराएको थियो ।
चौथो खेलमा टीम क्यानडाले टीम अष्ट्रेलियालाई ५–० गोल अन्तरले पराजित गरेको थियो । लिग चरणको अन्तिम खेलमा टीम अमेरिकाले टीम अस्ट्रेलियालाई १–० गोलले हराएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ टीम क्यानडाका अभिनव जोशी र महिलातर्फ गीता राई उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा उत्कृष्ट गोलकिपर टीम अमेरिकाका सञ्जय थापा, इमर्जिङ प्लेयर टीम मलेसियाका आशिष पुडासैनी, उत्कृष्ट व्यवस्थापक टीम क्यानाडाका दीपेश तिमल्सिना, गोल अफ द मोमेन्ट टीम अमेरिकाका निरञ्जन राजवंशी, मोमेन्ट अफ द डे टीम क्यानडाका भरत बोम्जन, अट्रायक्टिभ प्लेयर अवार्ड अमेरिकाका निशान राई र फ्यान अफ द डे पूजा शाक्य र सुमन सिवाकोटी घोषित भए ।
प्रतियोगिताका विजेता खेलाडीलाई मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, सुन्दर थापा, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा प्रशिक्षक राजुकाजी शाक्य, अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतियोगिता तथा लिग निर्देशक सञ्जिव मिश्रलगायतले पुरस्कार प्रदान गरे ।
मञ्चका अध्यक्ष सुवेदीले मञ्चमा आबद्ध सदस्य र विदेशमा रहेका मञ्चका पूर्व सदस्यबीच आपसी भाईचारा बढाउनका लागि फेस्टिभल आयोजना गरिएको बताए ।