जेठ २८, २०७९ शनिबार

नेपालले आज एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आयोजक कुवेतविरुद्ध खेल्दै छ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तरराष्ट्रिय खेल मैदानमा हुने खेल स्थानीय समयअनुसार राति ७ः१५ मा (नेपाली १० बजे) सुरु हुनेछ । 

प्रतियोगितामा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जीतको खोजीमा छन् । समूहको पहिलो खेलमा घरेलु टोलि कुवेत इन्डोनेसियासँग २–१ अन्तरले पराजित भएको थियो । यस्तै, नेपाल बलियो टोली जोर्डनविरुद्ध २–० अन्तरले खेल गुमाएको थियो । 

जोर्डनविरुद्ध युवा टोलिले उत्कृष्ट खेल प्रदर्शन गर्दा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सोही सेटलाई मौका दिने योजनामा छन् । त्यसैले दोस्रो दिन टोलीमा कुनै परिवर्तन हुने छैन । गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङले डेब्यु खेलमा आशलाग्दो प्रदर्शन गरेका थिए । 


यस्तै, एक वर्षअघि यसै मैदानमा चोट बोकेर यही मैदानमा कमब्याक गरेका विकास खवासले समेत उत्कृष्ट प्रदर्शन जारी राखे । पहिलो हाफको अन्त्यमा गोलरक्षक दीपले एक पेनाल्टी बचाउँदै आफूलाई सिद्ध गरे ।  

यस्तै अग्रपंक्तिमा आयुष घलान, मनिष डांगीसँगै सेसेहाङ आङ्देम्बे, पुजन उपरकोटी, सुरज जिउ ठकुरी, रक्षकद्वय गौतम श्रेष्ठ र सुमन अर्यालले समेत आशलाग्दो प्रदर्शन गर्दै युवा टोलीमा थप हौसला प्रदान गरे । 

यता, बलियो मानिएको घरेलु टोलि कुवेत भने मैदानमा बाहिरको खराब आवाजलाई मैदानमा समेत निरन्तरता दिँदै दुःखद् नतिजा बेहोर्न बाध्य भयो  । टिम छनोटबाटै विवादमा रहेको कुवेती टिमले मैदानमा समेत राम्रो प्रभाव पार्न सकेको छैन । उमेर ढल्केका खेलाडीलाई टोलिमा स्थान दिँदा हाल कुवेत एफए नै विवादमा तानिएको छ र उसको समर्थनसमेत पहिलो खेलमा खुसी देखिएका थिएनन् । 

औसत ३० उमेरका खेलाडीसामु नेपालका औसत २२ खेलाडीले जुझारु प्रदर्शन गर्नेमा प्रशिक्षक अब्दुल्लाह विश्वस्त छन् । नियमित र अनुभवी १० खेलाडीविना कुवेतमा रहेको नेपाली टिमको यस खेललाई परीक्षाका रूपमा समेत हेरिएको छ । जोर्डनसँग बराबरी गर्ने योजना सफल नभएपछि प्रशिक्षक अब्दुल्लाहले बाँकी २ खेलमा आफ्नो पक्षमा खेल पार्ने योजना बुनेका छन् ।