जेठ २८, २०७९ शनिबार

काठमाडौँ — नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । सोही क्रममा शुक्रबार एक अमेरिकी डलरको विनिमय दर १ सय २४.८४ रुपैयाँ पुगेको हो । यो हालसम्मकै बलियो र बलियो हो । नेपाल राष्ट्र बैंकले शुक्रबार र शनिबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २४.८४ रुपैयाँ (बिक्री दर) तोकेको छ । बिहीबारका लागि यस्तो दर १ सय २४.७३ रुपैयाँ र बुधबार १ सय २४.६८ रुपैयाँ तोकिएको थियो ।

यसअघि यही जेठ ६ मा अमेरिकी डलरको भाउ १ सय २४.६७ रुपैयाँ पुगेको थियो । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा शुक्रबार डलरको भाउ पुन: नयाँ उचाइमा पुगेको हो ।

गत असारको तुलनामा चैतसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.०४ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.४८ प्रतिशतले बलियो (अधिमूल्यन) भएको थियो ।

पछिल्ला ४ वर्षमा अमेरिकी डलर भाउ करिब २३ रुपैयाँ बढेको छ । डिसेम्बर २०१७ मा एक अमेरिकी डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो । विश्वबजारमा अमेरिकी डलरको माग अकासिएपछि भाउ पनि बढेको जानकारहरू बताउँछन् । पछिल्लो समयमा गत वैशाख २७ देखि अमेरिकी डलरले हरेक दिनजसो नयाँ रेकर्ड बनाउन थालेको हो । त्यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १ सय २३.२४ रुपैयाँसम्म पुगेको थियो ।

पछिल्ला केही महिनायता विश्वबजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकारहरूको भनाइ छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।

शनिबार मध्यान्नसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ७८.१८ छ । पााच दिन अघि (जुन ६ तारिख) अमेरिकी डरलको विनिमय दर हालसम्मकै उच्च भारु ७८.०६ पुगेको थियो । शुक्रबारदेखि त्यो रेकर्ड पनि तोडेर डलरको भाउ उकालो लागि रहेको छ ।