काठमाडौँ — नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले गाँजा बेचेर २ वर्षभित्रै नेपालको वैदेशिक ऋण तिर्न सकिने बताएका छन् । उनले नेपालको स्वास्थ्य क्षेत्र र ऋण तिर्नका लागि गाँजा उत्पादन र बिक्री वितरण खुला गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्यालगायतका मन्त्रालयका लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै पूर्वमन्त्रीसमेत रहेका सांसद तामाङले गाँजाबारे उक्त दाबी गरेका हुन् ।
तत्कालका लागि गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिनुपर्ने तामाङको भनाइ थियो । त्यसपछि औद्योगिक प्रयोजनका लागि पनि बहस हुनुपर्ने उनले बताए । गाँजाको औषधीय गुणलाई हेरेरपनि यसको व्यवस्थापन र वैधानिककीकरण गर्न उनले माग गरेका छन् ।
सांसद तामाङले गाँजालाई वैधानिक बनाउनुपर्ने भन्दै यसअघि संसद् सचिवालयमा गैरसरकारी विधेयक दर्ता गराएका छन् ।