जेठ २९, २०७९ आइतबार

न्युजिल्यान्डले इंग्ल्यान्डको भूमिमा एकै इनिङमा सर्वाधिक रनको कीर्तिमान बनाएको छ। नटिङगममा जारी दोस्रो टेस्टमा न्युजिल्यान्डले पहिलो इनिङमा नै ५ सय ५३ रनको विशाल स्कोर तयार गरेको छ।

जवाफमा इंग्ल्यान्डले दोस्रो दिनको समाप्तिमा पहिलो इनिङमा १ विकेट गुमाएर ९० रन बनाएर खेलिरहेको छ। इंग्ल्यान्ड अझै ४ सय ६३ रनले पछि छ।

तीन खेलको टेस्ट सिरिजअन्तर्गत दोस्रो टेस्टमा न्युजिल्यान्डको उच्च स्कोरमा ड्यारील मिसेलले सर्वाधिक १ सय ९० रन बनाए। मिशेलले ३ सय १८ बलमा २३ चौका र ४ छक्का प्रहार गरे। उनी दोहोरो शतक बनाउन केवल १० रनले चुके। टम ब्लन्डेलले १०६ रनको शतकीय इनिङ खेलेका थिए। इंग्ल्यान्डका लागि जेम्स एन्डरसनले ३ विकेट लिएका थिए।

जवाफी इनिङ शुरु गरेको इंग्ल्यान्डले पनि राम्रो शुरुवात गरेको छ। ओपनर ज्याक क्रलीलाई ४ रनमा नै गुमाए पनि इंग्ल्यान्डका लागि एलेक्स लिस ३४ र ओली पोपले ५१ रनमा अविजित रहँदै दोस्रो दिनको खेल समाप्तिमा ९० रनमा खेलिरहेका छन्।

यसअघि भएको पहिलो टेस्टमा इंग्ल्यान्डले ५ विकेटको जित निकालेको थियो।