काठमाण्डौ- नेपालको पहिलो रेमिट्यान्स कम्पनी आईएमईले २२औँ स्थापना दिवस मनाएको छ । आईएमईले हिजो काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस भव्यताका साथ मनाएको हो । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
अर्थमन्त्री शर्माले रेमिट्यान्सले ग्रामीण क्षेत्रको दुस्खी जीवनलाई सुखी बनाउन मद्दत गरेको बताउँदै थुप्रै चुनौती पार गरेर यस क्षेत्रलाई यहाँसम्म ल्याउन आईएमईले ठूलो योगदान पुर्याएको बताउनु भयो । साथै उहाँले रेमिट्यान्सलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन खोज्दा हुण्डी कारोबार चलिरहेको बताउनुभयो ।
यस्तै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफैँ वैदेशिक रोजगारीमा गएका व्यक्तिले वैदेशिक रोजगारीमै गएका व्यक्तिहरूको सेवाका लागि स्थापना गरेको कम्पनीले अहिले करिब ४०/४५ हजारलाई रोजगारी सिर्जना दिइरहेको बताउनु भयो ।
आईएमईको इतिहास
नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आईएमई सन् २००१मा स्थापना भएको हो ।
सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको सुरुवात गरेको आईएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिट्यान्सकोे माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ ।
स्थापनाको समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पुर्याउनका लागि औपचारिक माध्यमको ठूलो अभाव थियो । औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निक्कै जोखिमयुक्त र चुनौतीपूर्ण थियो ।
नेपालको पहिलो रेमिट्यान्स सेवा प्रदायकको रूपमा स्थापित आईएमईले अहिले बैंकिङ्ग, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनका क्षेत्रहरूमा समेत आफ्नो लगानी विस्तार गर्दै आएको छ ।
राज्यलाई सबैभन्दा बढी करमा योगदान गरेबापत लगातार तीन पटकसम्म नेपाल सरकारबाट सीआईपी सम्मान प्राप्त यस कम्पनी स्वदेशी एवम् विदेशी गरी दर्जनौँ सङ्घरसंस्थाबाट सम्मानित भइसकेको छ ।
आईएमईको स्थापनापछि औपचारिक सञ्जालमार्फत आप्रवाह हुने रेमिट्यान्सको मात्रा ह्वात्तै बढेको देखिन्छ । रेमिट्यान्स आयातको मुख्य श्रोत हुनुका साथै विदेशी मुद्राको सञ्चितिको मुख्य श्रोत पनि हो । आईएमईले समय सापेक्ष र अत्याधुनिक प्रविधिको माध्यमबाट डिजिटल सेवा प्रदान गर्न आईएमई पे मोबाइल वालेटको सञ्चालन गरिरहेको छ ।
आईएमई पे वालेटमा अहिले ३० लाखभन्दा धेरै प्रयोगकर्ताहरुले रियल टाइम डिजिटल भुत्तानी तथा रेमिट्यान्स सेवाको लाभ लिइरहेका छन् ।