जेठ ३०, २०७९ सोमबार

काठमाडौँ — राजस्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । भारतबाट चोरी पैठारी गरी नेपालमा मालवस्तु भित्र्याइ विभिन्न ठाउँमा बेच्ने र बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकरसमेत नतिरी राजस्व चुहावटको कसुर गरेको भन्दै विभागले उनीहरूविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । 

यसरी मुद्दा दायर गरिएकाहरूमा अर्घाखाँची छत्रदेव २ स्थायी घर भई रुपन्देही बस्ने नसिपदिन मियाँ, पाल्पा रिब्दीकोट २ घर भई बुटवलको कारोबार हेर्ने शंकरप्रसाद आचार्य (मालिका ढुवानी सेवा), रुपन्देही सिद्धार्थनगर १ की रेखा जैसवाल (न्यू मनकामना सप्लायर्स) र भारत दिल्ली गान्धिनगर घर भई काठमाडौं १ मा बस्ने आशिष सिंह छन् । यी चारै जनालाई एक करोड ३८ लाख ५५ हजार रुपैयाँ बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवाना गर्न विभागले माग गरेको छ । त्यस्तै जैसवाल, मियाँ र सिंहलाई थप ९ करोड २१ लाख ९५ हजार रुपैयाँ बिगो कायम गरी शतप्रतिशत जरिवाना माग गरिएको छ ।