असार १, २०७९ बुधबार

काठमाडौं । वाग्मती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी वाग्मती प्रदेशको चालु आर्थिक वर्षको अर्ध–वार्षिक प्रतिवेदनअनुसार पनि वाग्मती प्रदेशअन्तर्गतका दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौं, नुवाकोट, भक्तपुर, ललितपुर, काभे, रामेछाप, सिन्धुली, मकवानपुर र चितवनमध्ये सबै भन्दा बढी औद्योगिक कर्जा काठमाडौ जिल्लामा प्रवाह भएको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरूले वाग्मती प्रदेशको औद्योेगिक क्षेत्रमा प्र्रवाह गरेको कर्जा आठ दशमलव ६ प्रतिशतले वृद्धि भई नौ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा नौ दशमलव आठ प्रतिशतले वृद्धि भई आठ खर्ब ९६ अर्ब ४२ करोड पुगेको थियो ।

प्रतिवेदन अनुसार वाग्मती प्रदेशमा प्रदेशमा प्रवाह भएको औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी अर्थात आठ खर्ब ५६ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । ‘यो कर्जा भनेको वाग्मतीको प्रदेशको कुल औद्योगिक कर्जाको ८८ दशमलव एक प्रतिशत हिस्सा हो,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार सबैभन्दा कम औद्योगिक कर्जा भने वाग्मती प्रदेशको रसुवा जिल्लामा भएको छ । उक्त जिल्लामा ३२ करोड १८ लाख अर्थात शून्य दशमलव शून्य तीन प्रतिशत कर्जा मात्र औद्योगिक क्षेत्रमा प्रवाह भएको छ । कुल औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी अर्थात २७ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा कम निर्माणसम्बन्धी उद्योगमा चार दशमलव सात प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा १७ दशमलव सात प्रतिशत र विद्युत, ग्यास तथा पानीसम्बन्धी उद्योगमा आठ दशमलव तीन प्रतिशतले कर्जा बढेको छ । खानीसम्बन्धी उद्योगमा तीन दशमलव दुई प्रतिशतले र कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा आठ दशमलव पाँच प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार वाग्मती प्रदेशका १३ वटा जिल्लामा प्रवाह भएको कुल नौ खर्ब ७३ अर्ब १२ करोड ७६ लाख रुपैयाँमध्ये दोलखामा एक अर्ब १७ करोड ९५ लाख, सिन्धुपाल्चोकमा ५९ करोड ७० लाख, धादिङमा तीन अर्ब २४ करोड २९ लाख, नुवाकोटमा दुई अर्ब ३८ करोड ६० लाख, भक्तपुरमा एक अर्ब १० करोड १५ लाख ७० हजार, ललिपुरमा तीन अर्ब ६९ करोड ७५ लाख १० हजार, काभ्रेमा ६ अर्ब ८९ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यसैगरी रामेछाप जिल्लामा ७० करोड ६० लाख, सिन्धुली जिल्लामा एक अर्ब ६१ करोड २१ लाख, मकवानपुर जिल्लामा एक अर्ब ३५ करोड ९९ लाख ४० हजार र चितवन जिल्लामा तीन अर्ब ८१ करोड ११ लाख ३० हजार रुपैैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

१३ जिल्लामध्ये कुल जिल्लामा कति औद्योगिक कर्जा ? हेर्नुहोस् यस्तो अवस्था:
क्र.स. जिल्ला कर्जा रकम (रु. करोडमा)
१ दोलखा ११७.९५
२ सिन्धुपाल्चोक ५९.७०
३ रसुवा ३२.१८
४ धादिङ ३२४.२९
५ नुवाकोट २३८.६०
६ काठमाडौं ८४६४७.२६
७ भक्तपुर ११०१.५७
८ ललितपुर ३६९७.५१
९ काभ्रे ६८९.८३
१० रामेछाप ७०.६०
११ सिन्धुली १६२.२१
१२ मकवानपुर १३५९.९४
१३ चितवन ३८११.१३
कुल ९७३१२.७६
(स्रोत नेपाल राष्ट्र बैंक)