कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ढल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको पाइएको छ । झलारीदेखि कलुवापुरसम्म निर्माण भइरहेको ढलमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको पाइएको हो ।
ढल निर्माण गर्दा बालुवालगायत अन्य सामग्री गुणस्तरहीन प्रयोग भइरहेको स्थानीय ललित हमालले बताए । "ढल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भइरहेको छ" स्थानीय हमालले भने, "बालुवा, इँट्टालगायतका समाग्रीहरू गुणस्तरहीन प्रयोग भइरहेका छन्, अनुगमन गर्ने निकाय मौन छ ।" ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरिरहेको उनको भनाइ छ । तर यता निर्माणको ठेक्का पाएको सुभम डेभलपर्स एण्ड सप्लायर्स प्रालिका प्रकाश नेगीले ढल निर्माणको कार्य गुणस्तरीय रूपमा नै भइरहेको जिकिर गरे । साथै उनले ३० मिटर लम्बाइ ढल निर्माण गर्नुपर्नेमा थप १० मिटर बढाएर ४० मिटर बनाइएको बताए । प्रदेश सरकारको ६ लाखबढीको लागतमा ढल निर्माणको कार्य भइरहेको छ ।