नेपाल राष्ट्र बैंकले वित्तीय संस्था घटाउने र बलियो बनाउने नीति लिएपछि सबैभन्दा बढी गाभिने र प्राप्ति गर्ने (मर्जर एण्ड एक्विसिजन) प्रक्रियामा ग्लोबल आइएमई बैंक अग्रपंक्तिमा देखिएको छ ।
बिहीवार बैंक अफ काठमाण्डूसँग मर्जर सम्झौता गरेसँगै ग्लोबल आइएमईमा २१ वटा बैंक तथा वित्तीय संस्था मिसिएका छन् । यो पछिल्लो १० वर्षको तथ्यांक हो ।
१२ जेठ २०६९ मा तत्कालीन ग्लोबल बैंक, आइएमई र लर्ड बुद्ध फाइनान्सबीच मर्जर भएको थियो ।
मर्जरपछि ग्लोबल आइएमई बैंक बन्यो । त्यसपछि यो बैंकले थप चारवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ५ वटा फाइनान्सलाई गाभिसकेको छ ।
ग्लोबल आइएमई बैंकसँग बुधवार समाहित भएको बैंक अफ काठमाण्डू (बीओके)पछि यो बैंकको नाम ग्लोबल आइएमई बीओके लिमिटेड हुनेछ ।
ग्लोबल आफ्नो शाख जोगाउन, सबैभन्दा ठूलो बैंक बन्न र सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था मिसाउन समेत सफल भएको छ ।
यो बैंकसँग हालसम्म ५ वटा राष्ट्रिय स्तरका (क वर्गका) वाणिज्य बैंकहरू मर्ज भएका छन् । ग्लोबल आइएमई बैंक, जनता बैंक, कमर्ज एन्ड ट्रस्ट बैंक, बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच मर्जर भएर एउटै वाणिज्य बैंक भएको छ । यसअघि बीओकेसँग लुम्बिनी बैंक मर्ज भएको थियो ।
ग्लोबल आइएमईले ७ वर्षअगाडि एकैपटक दुईवटा विकास बैंकलाई पनि मर्जर गरेको थियो ।
सोसियल डेभलपमेन्ट र गुल्मी विकास बैंकलाई प्राप्ति गरेको थियो । त्यसपछि हालसम्म यो बैंकमा मिसिने विकास बैंक नै १० वटा पुगेका छन् ।
यो बैंकसँग रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक मिसिएका छन् ।
यसमा ड्राइ डेभलपमेन्ट बैंक, ब्राइट डेभलपमेन्ट बैंक, पब्लिक डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंक पनि मिसिएका छन् ।
ग्लोबल आइएमईले हालसम्म ६ वटा फाइनान्स कम्पनीलाई समेत आफैंमा समाहित गरेको छ ।
यो बैंकमा आइएमई फाइनान्स, लर्डबुद्ध फाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स, नेपाल आवास फाइनान्स र नवदुर्गा फाइनान्स समाहित भइसकेका छन् ।
ग्लोबल आइएमई बीओके ५२ अर्बको बैंक बन्ने
बिहीवार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभिने भएपछि अब यो बैंक अहिलेसम्मकै ठूलो बैंक बन्ने भएको छ ।
बैंकको कुल पूँजी ५२ अर्ब रुपैयाँको हुने भएको छ । यसको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँको हुने भएको छ । कुल पूँजीका हिसाबले यो बैंक मुलुककै ठूलो वाणिज्य बैंक बन्ने दाबी ग्लोबल आइएमईको छ ।
बैंकको कूल निक्षेप ३ खर्ब ८४ अर्ब, कूल कर्जा ३ खर्ब ८० अर्बसहित कूल पूँजी, चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्ने दाबी ग्लोबल आइएमईले गरेको छ ।
मर्जर सम्झौतापछि ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालको बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्य भएको र ठूलो बैंक बन्न सफल भएको बताएका छन् ।
ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरू परिपालनामा सधैँ पहिलो हुने प्रयत्न गरिरहने पनि ढकालले बताए ।
६ वटा वित्तीय संस्था मिसिएर इन्भेष्टमेन्ट मेगा बैंक
यसअघि गत शुक्रबार ९२७ जेठ०मा नेपाल इन्मेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच मर्जरको सम्झौता भएको छ । यो बैंकले पनि ६ महिनाभित्रै मर्जरसम्बन्धि प्रक्रिया पूरा गरेर एकीकृत कारोवार गर्ने जनाएको छ ।
इन्भेष्टेमन्ट र मेगा बैंक मर्जरपछि ३४ अर्ब ४२ करोड चुक्ता पूँजीको बैंक बन्ने भएको छ । यी दुई बैंकबीचको मर्जपछिको बैंक चुक्ता पूँजीका हिसाबले ठूलो भएपनि कुल पूँजीका हिसाबले भने ग्लोबल आइएमई नै पहिलो हुनेछ ।
इन्भेष्टमेन्ट मेगा बैंकसँग पनि ६ वटा संस्था मिसिएका छन् ।
इन्भेष्टमेन्टसँग एस डेभलपमेन्ट बैंक मात्रै मिसिएको छ भने मेगा बैंकसँग पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंक मिसिएका छन् ।
'मर्जरले बैंक ठूलो हुने मात्रै हैन सिनर्जीसमेत ल्याउँछ'
बैंकर्स संघ एशोसिएसनका पूर्व अध्यक्ष तथा बैंकिङ विज्ञ भुवन दाहालले मर्जरबाट ठूलो बैंक हुँदा पर युनिट कस्ट घट्ने हुँदा खर्च कम हुने बताए ।
सामान्यतया बैंकहरूले जारी गर्नुपर्ने सूचना तथा विज्ञापनमा एउटै खर्चले पुग्ने भएकाले पनि बैंक जति ठूलो भयो उत्ति नै खर्च कम हुने दाहालले बताए ।
मर्जर हुँदा कुनै बैंकको ऋण विस्तारमा त कुनैको निक्षेप संकलनमा सबल पक्षहरू हुने गर्छन् । यसले गर्दा फरक–फरक राम्रा पक्षहरू एकै ठाउँमा आउँदा बैंक ठूलो मात्रै नभएर सिनर्जी पनि आउने दाहालको भनाइ छ ।
बैंकहरू मर्जर भएर ठूलो बन्नुको प्रमुख लाभ नै सिनर्जी इफेक्ट आउनु र खर्च कम हुुनु नै भएको दाहालको तर्क छ । दाहालले भने, ‘बैंकहरूले प्रविधिमा लगानी गरेका छन् । त्यो लगानी दुईवटा बैंक हुनुभन्दा एउटैमा गर्दा खर्चलाई कम गर्न सकिन्छ ।’ बैंक ठूलो हुँदा एउटै बैंकले धेरै लगानी गर्न सक्ने हुन्छ भने एउटै बैंकबाट धरै काम गर्न सकिने पनि हुन्छ ।
राजनीतिक क्षेत्रको एउटा उदाहरण दिँदै दाहाल भन्छन्, ‘यस अघि नेकपा माले र मार्क्सवादीबीच एकता हुँदा सिनर्जी आएको थियो । दुई पार्टी मिल्दा मालेसँग कार्यकता धेरै थिए भने मार्क्सवादीसँग नेता । दुवै पार्टीबीचको एकताले सिनर्जी आएको थियो ।’
यसपछि एमाले र माओवादी मिल्दा विभिन्न पाटोमा असफल भएजस्तै कहिलेकाहीँ बैंकिङ क्षेत्रमा पनि यस्तो मर्जरमा असफलता समेत हुन सक्ने बताए ।
कुनै पनि बैंक तथा वित्तीय संस्थाको सकारात्मक पक्ष र दुवैको स्वार्थ मिलेको अवस्थामा मर्जर सफल हुने र सिनर्जी आउने हुन्छ । यसअघि हिमलयसँग इन्भेष्टेमन्ट मर्जर हुँदा स्वार्थ नमिलेका कारण मर्जर भाँडिएको थियो ।
स्वार्थ मिलेकै कारण बैंकिङ क्षेत्रमा धेरैवटा बैंक, विकास बैंक, फाइनान्स, र लघुवित्तसँगको मर्जररप्राप्ति सफल भएको छ । यसले बैंक तथा वित्तीय संस्था बलियो हुने र ठूलो हुँदा सकारात्मक नै सन्देश दिएको छ । राष्ट्र बैंकको नीति पनि वित्तीय संस्था घटाउने र सेवा प्रभावलाई चुस्त दुरुस्त बनाउने भन्ने नै हो ।
‘बैंकहरूमा मर्जर हुँदा मिलाउन समस्या हुने पाटो कर्मचारीको व्यवस्थापन पनि हो । दुइवटा बैंकबीच मर्जर हुँदा कर्मचारीबीच असन्तुलन हुने डर सबैभन्दा ठूलो पाटो हो । मर्ज गर्दा जसरी सबै पक्ष मिलाइएको हुन्छ, कर्मचारीको व्यवस्थापन पनि त्यसैगरी मिलाएर जाने हो भने संस्था सफल बन्छ,’ दाहालले भने ।