असार ४, २०७९ शनिबार

काबुलस्थित एउटा सिख मन्दिरमा विस्फोटन भएको छ ।

शनिवार बिहानै भएको विस्फोटनमा कोही हताहत भएका छन् कि छैनन् भन्ने अहिलेसम्म स्पष्ट हुन नसकेको बीबीसीले जनाएको छ ।

गुरुद्वाराका अध्यक्ष गुरनाम सिंहले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार विस्फोटन हुँदा "गुरुद्वाराभित्र ३० जनाजति मानिस" थिए।

"तीमध्ये कति जना जीवित छन् वा कति जनाको मृत्यु भयो त्यो हामीलाई थाहा छैन," उनले भने।


स्थानीय टेलिभिजन टोलोले विस्फोटन भएको क्षेत्रबाट धुवाँको बाक्लो मुस्लो उडेको दृश्य प्रसारण गरेको छ।


अहिले घटना भएको गुरुद्वारा बाँकी भएको अन्तिम सिख मन्दिर हो।

सिख समुदायका नेताहरूका अनुसार अहिले अफगानिस्तानमा सिख धर्मावालम्बीको सङ्ख्या १४० जति छ।

सन् १९७० को दशकमा अफगानिस्तानमा सिखको जनसङ्ख्या एक लाखजति थियो।

घटनाबारे भारत सरकारले चिन्ता प्रकट गरेको छ।


गत वर्ष तालिबान पुनः अफगानिस्तानको सत्तामा फर्किएको थियो। त्यसपछि काबुलमा बेलाबेलामा आक्रमण हुने गरेको छ।

गत डिसेम्बर महिनामा एउटा सैन्य अस्पतालमा बन्दुक र बम आक्रमण हुँदा २० जनाभन्दा बढीको मृत्यु भएको थियो।

एप्रिलमा काबुलस्थित एउटा मस्जिदमा ग्रिनेड प्रहार हुँदा छ जना घाइते भएका थिए। इस्लामिक स्टेट अफ खोरासान प्रोभिन्स (आईएसआईएस-के) ले उक्त आक्रमण आफूले गराएको दाबी गरेको थियो।