असार ८, २०७९ बुधबार

अफगानिस्तान र पाकिस्तानका केही भागमा बुधबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।

दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ । 

भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको प्राप्त विवरणमा जनाइएको छ । भूकम्पको धक्कापछि मानिसहरु चिच्याउँदै घरबाहिर निस्केका थिए । तर, क्षतिको विवरण सार्वजनिक भएको छैन ।

भूकम्प भारतका केही भूभागमा महशुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) ले जनाएको छ ।