असार ८, २०७९ बुधबार

भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले झारखण्डकी पूर्व गभर्नर र आदिवासी नेत्री द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले मंगलबार यो घोषणा गरेका हुन् ।

जेपी नड्डाले पहिलो पटक आदिवासी महिला उम्मेदवारलाई प्राथमिकता दिएको बताए । यदि द्रौपदी मुर्मुले राष्ट्रपति चुनाव जितिन् भने उनी देशको पहिलो आदिवासी महिला राष्ट्रपति हुने छिन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एनडीए गठबन्धनकी द्रौपदी मुर्मुलाई राष्ट्रपति पदका लागि उम्मेदवार बनाएको भन्दै ट्वीट गरेर आफ्नो प्रतिक्रिया दिएका छन् ।

उनले विपक्षी उम्मेदवार यशवन्त सिन्हाको सामना गर्ने छिन् । द्रौपदी मुर्मु ओडिशाको मयुरभञ्ज जिल्लाकी हुन् र आदिवासी समुदायबाट आएकी हुन्। उनले एक शिक्षिकाका रूपमा काम सुरु गरेकी थिइन् । र त्यसपछि ओडिशाको राजनीतिमा प्रवेश गरिन् ।  सन् १९९७ मा काउन्सिलरको चुनाव जितेर उनी ओडिशाको रैरङपुरको उपाध्यक्ष भइन्। सोही वर्ष उनी भाजपाको एसटी मोर्चाको प्रदेश उपाध्यक्ष चुनिए। उनी मयुरभञ्जको रायरंगपुरबाट बीजेपीको टिकटमा दुई पटक विधायक (२०००-२००९) भइन्। द्रौपदी मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्डको गभर्नर पनि रहेकी थिइन् ।