नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले २ दिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
गत असार ३ र ४ गते काठमाडौंको चन्द्रागिरीमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बैंकका सम्पूर्ण बिभाग तथा डिभिजन प्रमुखहरू र प्रादेशिक कार्यालय प्रमुखहरू गरि ४२ जनाको सहभागिता रहेको थियो ।
प्रधान कार्यालय बजेट तथा योजना विभागले आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागीहरूलाई नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था र संभावनाहरू सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो ।
बैंकले सम्पूर्ण प्रदेशहरूमा प्रदेशस्तरीय बजेट गोष्ठीहरू सम्पन्न गरी सम्पूर्ण शाखाहरूबाट आएका सल्लाह सुझावहरू सम्बन्धमा प्रधान कार्यालयका विभाग तथा डिभिजनबीच छलफल साथै राय सुझाब सहित बजेट तथा कार्यक्रमहरू तयार गर्दा त्यसको प्रभावकारिता बढी हुने देखिएकोले यस्ता कार्यक्रमहरू प्रत्येक बर्ष आयोजना गरिंदै आएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ्ग क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनतले गर्दा नै नैपाल बैंक सबल र प्रतिस्पर्धी बैंकको रुपमा अगाडि आएको बताएका थिए ।