असार ९, २०७९ बिहिबार

एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भोलि नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्ने भएको छ । 

मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उप विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।  

यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो । 

यसअघि नेपालले समूह चरणमा  भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् ।