असार ९, २०७९ बिहिबार

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चुनाव केन्द्रित गठबन्धनका लागि एकसाथ नेपाली काँग्रेस र नेकपा एमालेसँग छलफल अघि बढाएको छ । प्रदेश तथा संघको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरिसकेको लोसपाले कोसँग गठबन्धन गर्ने भन्ने निर्णय गर्न बाँकी छ । गठबन्धन बनाउने उद्देश्यले नै लोसपा नेपालले विपरीत राजनीतिक ध्रुवको नेतृत्वमा रहेका दुवै दलसँग छलफल अघि बढाएको हो ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दै आएका छन् । अहिलेसम्म कुन दलसँग गठबन्धन गरेर जाने भन्नेबारे निर्णय नभएको लोसपाका कार्यकारिणी समिति सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए । पार्टीमा यस विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘मुख्य कुरा हाम्रो माग कसले सम्बोधन गर्छ र माग पूरा गराउन कसले सहयोग गर्छ भन्ने नै हो ।’ पार्टी अध्यक्ष ठाकुरले विभिन्न दलका नेताहरुसँग यसबारे छलफल गरिरहेको उनले बताए । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले लोसपाका अध्यक्ष ठाकुरलाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन् । ‘तपाईहरुले पाउने सीट गठबन्धनबाटै दिने कुरा हुन्छ, त्यसका लागि चिन्ता नलिनुस्, अरुतिर जानुको सट्टा हामीसँगै आउनुस्, मिलेर काम गरौं,’ प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्री देउवाले लोसपालाई जसरी पनि आफूतिर तान्न खोज्नुभएको छ ।’

लोसपाले राख्दै आएको माग पूरा गर्न प्रधानमन्त्री देउवा सकारात्मक देखिएको स्रोतको भनाइ छ । मधेसका माग गठबन्धनबाट निर्णय गराएरै सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री देउवाले सरकार र गठबन्धनमा सहभागी हुनका लागि लोसपा अध्यक्ष ठाकुरलाई आग्रह गरेका छन् ।

यता, एमालेका अध्यक्ष ओलीले पनि लोसपा नेपाललाई आफूतिर तान्ने प्रयास गरेका छन् । लोसपाका नेता मनिष मिश्रका अनुसार गठबन्धनका लागि प्रधानमन्त्री देउवामात्र होइन, एमालेका अध्यक्ष ओलीबाट पनि प्रस्ताव आएको छ । ओलीले यस विषयमा लोसपाका अध्यक्ष ठाकुरसँग छलफल गरिसकेका छन् ।

गठबन्धन कोसँग गर्ने भन्नेबारेमा अध्यक्ष ठाकुरले प्रस्ट खुलाइसकेका छैनन् । तर उनले आफूहरुले उठाउँदै आएको माग पूरा हुनुपर्ने शर्तभने दुवै पक्षसँग राखेका छन् । अध्यक्ष ठाकुरले असार ६ गते बसेको शीर्ष नेताहरुको बैठकमा गठबन्धन तथ अन्य विषयमा प्रधानमन्त्री देउवासँग भएको छलफलबारे जानकारी गराएका थिए । पार्टी विधान, गठबन्धन लगायतका विषयमा छलफल गर्न आज पनि लोसपाका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

आजको बैठकले पार्टीको विधानको बारेमा टुङ्गो लगाउने बताइएको छ । लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णको नेतृत्वमा गठन भएको विधान मस्यौदा समितिले शीर्ष नेतालाई मस्यौदा बुझाइसकेको छ । असार ६ गतेको बैठकमै बुझाइएको मस्यौदाबारे आजको बैठकमा शीर्ष नेताहरुबीच छलफल गरी त्यसलाई अन्तिम रुप दिएर कार्यकारिणी समितिमा पठाउने स्रोतको भनाइ छ ।

कार्यकारिणी समितिले त्यसलाई अनुमोदन गरेपछि मात्र सो विधान निर्वाचन आयोग पठाउने बताइएको छ ।