असार १०, २०७९ शुक्रबार

काठमाडौँ – राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा आवेदन दिने आज दिन रहेको छ ।

आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले जेठ २४ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दालाई आईपीओ जारी गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यसमा ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।