असार १०, २०७९ शुक्रबार

काठमाण्डौ- एसीसी महिला टी– च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा यूएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएई १९ ओभर ५ बलमा ८१ रनमा समेटियो । यूएईका वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । त्यस्तै इशा रोहितले १५ र कप्तान छाया मुघलले १४ रन जोडिन् । नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन्।

यस्तै इन्दु बर्माले ३ र सीता रानामगरले २ विकेट लिइन् । आजको खेलमा नेपालले यूएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बङ्लादेश, श्रीलङ्का र थाइल्यान्ड रहेका छन् ।

नेपाल समूह ‘बी’ को उपविजेता र यूएई समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् । अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसिया र समूह ‘बी’ को विजेता हङकङबीचको खेल दिउँसो १२ बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो भने हङकङसँग ७ विकेटले पराजित भएको थियो । तर यूएई अपराजित टोली हो । फाइनल खेल भोलि हुनेछ ।

तस्बिर: क्यान