असार १०, २०७९ शुक्रबार

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले उपचारका लागि सरकारसँग झण्डै ९० लाख उपचार खर्च लिएको सार्वजनिक भएको छ ।

खनालको उपचारका लागि ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । खनालको उपचारका लागि आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख र २०७८/०८९ मा ५८ लाख ५२ हजार रुपैयाँ सहयोग दिइएको जनाएको हो ।

मन्त्रालयले भनेको छ, “…पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारका क्रममा लागेको खर्च नेपाल सरकारले बेहोर्ने निर्णय भएबमोजिम उहाँको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा आर्थिक वर्ष २०७७/०७८ मा रु.३१ लाख र आर्थिक वर्ष २०७८/०७९ मा रु‍.५८ लाख ५२ हजार गरी जम्मा रु.८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा प्राप्त भइ नेपाली राजदुतावास नयाँ दिल्ली पठाइएको।”

खनालको सम्पूर्ण उपचार खर्च ८१ लाख ३५ हजार ९५३ रुपैयाँ ६० पैसा रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको परराष्ट्र मन्त्रालयले बाँकी रहेको आठ लाख १६ हजार ४७ रुपैयाँका बारे भने केही खुलाएको छैन ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ मा कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सोका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध नगराइने व्यवस्था भए पनि सरकारले त्यसविपरीत खनालको उपचारका लागि यति धेरै रकम उपलब्ध गराएको हो ।

भारतमा मृगौला प्रत्यारोपणका लागि गएका बेला खनाललाई उपचार खर्च नलिन चौतर्फि दबाब परे पनि उनले उपचार खर्च लिएका थिए ।