असार ११, २०७९ शनिबार

काठमाडौँ । यो साता नेप्से परिसूचक १८ सय ६२ दशमलव ६ अंकमा कायम रहेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६४ दशमलव ९० अंकमा कायम रहेको छ ।

सातामा दुई सय ३७ कम्पनीको एक लाख ७५ हजार दुई सय ८० पटक सेयर किनबेच भएको छ । जसबाट दुई करोड ५१ लाख ५१ हजार तीन सय ६९ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ७ अर्ब ६१ करोड ९० लाख सात सय नौ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झन्डै दुई अर्ब रुपैयाँले बढी हो ।

गत साता भने नेप्सेमा दुई सय ३२ कम्पनीको एक लाख २३ हजार नौ सय २९ पटक सेयर किनबेच भएको थियो । जसबाट एक करोड ७१ लाख ९९ हजार आठ सय ३४ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ५९ करोड ९३ लाख ६० हजार ७५ रुपैयाँ पुगेको थियो । यस साता नेप्से नियमित कारोबारका लागि ६ कार्य दिन नै खुला थियो । जसमध्ये तेस्रो र छैटौं कार्य दिन नेप्से बढे पनि बाँकी चार कार्य दिन नेप्से लगातार घटेको थियो ।

सोहीअनुसार पहिलो दिन ३७ दशमलव २७ अंकले घटेर १९ सय ३४ दशमलव ११ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन १३ दशमलव ७८ अंकले बढेर १८ सय ६२ दशमलव ६ अंकमा कायम रहन सफल भएको थियो । यीबाहेकका बाँकी दिनमा पनि नेप्से घटेको थियो ।

यसैगरी पहिलो दिन सात दशमलव २९ अंकले घटेर तीन सय ७३ दशमलव ८५ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन दुई दशमलव ८१ अंंकले बढेर तीन सय ६४ दशमलव ९० अंकमा कायम रहन सफल रहेको थियो । यीबाहेकका बाँकी दिनमा सेन्सिटिभ इन्डेक्स पनि घटेको थियो ।

बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा यो साता हिमालयन डिस्ट्रिलरी प्रालि, नबिल बैंक, नेसनल हाइड्रो पावर कम्पनी आदि परेका छन् भने नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक, आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।

बजार पुँजीकरणका आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेको छ ।