असार १२, २०७९ आइतबार

कञ्चनपुर । एसियाली विकास बैंकको सहयोगमा निर्माणाधीन सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको पाइएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजनाद्वारा सञ्चालित M1, M2 र M3 सडकखण्डको ढलको सेफ्टिवालमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको पाइएको हो । 

शुक्लाफाँटा नगरपालिकाका भौतिक पूर्वाधार विकास समिति संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष बहादुरसिंह महराले रमन केएसजेभीले निर्माण गरिरहेको ढलको सेफ्टिवालमा गुणस्तरहीन इट्टा प्रयोग भइरहेको पाइएको बताए । उनले तत्काल गुणस्तरहीन सामग्री हटाउन निर्देशन दिइएको बताउँदै तीन दिनभित्र लिखित जवाफसहित नगरपालिकामा उपस्थित हुन रमन केएसजेभीलाई निर्देशनसमेत दिइएको बताए । पर्खाल तोड्नसमेत आग्रह गरिएको उनले बताए । तोकिएको समयमा गुणस्तरीय रूपमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने महराले बताए । उक्त प्रालिका साइड इन्चार्ज तेज बोहराले गुणस्तरहीन इट्टा प्रयोग भएको स्विकार गरेका छन् । तर यता इन्जिनीयर मनोज झाले गुणस्तरहीन इट्टा प्रयोग नभएको दावी गरेका छन् । निर्माण कम्पनी पटकपटक निर्माण कार्य गर्दा विवादमा आइरहने गरेको छ ।