असार १२, २०७९ आइतबार

स्कटल्याण्डमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिज र क्यानडामा हुने दुई एकदिवसीय अभ्यास सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।

घोषित टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करन केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शरार्फ र विनोद भण्डारी छन्।

यसअघि क्यानाडामा नेपाल र घरेलु टोलीबीच हुने भनिएको २ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज नहुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यसअघि जुन २८ र जुन २९ मा नेपाल र क्यानाडाबीच दुई खेलको टी-ट्वान्टी सिरिज हुने तालिका रहेको थियो। 

क्यानका अनुसार अब नेपाल र क्यानाडाबीच दुई खेलको एकदिवसीय सिरिज हुनेछ। 

नेपाल र क्यानाडाबीच जुलाई ४ र जुलाई ५ मा दुई खेलको एकदिवसीय सिरिज हुने तालिका रहेको छ। एकदिवसीय सिरिजअघि नेपाल र क्यानाडाको ओन्टारियो क्लबबीच अभ्यास खेल हुनेछ ।

आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्ड जानुअघि तयारीका लागि नेपाली टिम क्यानाडाको भ्रमणामा जान लागेको हो।

नेपाली टिम जुन २८ मा क्यानाडा पुग्ने तालिका छ।