असार १२, २०७९ आइतबार

एजेन्सी । मिडिया रिपोर्टका अनुसार अफगानिस्तानमा आज बिहान गएको ६.१ म्याग्निच्युडको भूकम्पका कारण १ हजार जनाको मृत्यु भएको छ भने १५ सयभन्दा बढी घाइते भएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको खोस्ट सहरबाट ४० किलोमिटर टाढा थियो।

अर्कोतर्फ युरोपेली भूमध्यसागरीय भूकम्प मापन केन्द्रले यस भूकम्पको प्रभाव ५०० किलोमिटरको दायराभित्र रहेको जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा बिहानैदेखि सेनाको टोलीले उद्धार कार्य जारी राखेको छ । यसका साथै आपत्कालीन एजेन्सीहरूलाई पनि सहयोगका लागि अपील गरिएको छ।

उक्त क्षेत्रमा उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । सरकारले आपतकालीन एजेन्सीहरूलाई यस क्षेत्रमा थप विनाश रोक्न टोली पठाउन अपील गरेका छन् ।