असार १२, २०७९ आइतबार

काठमाण्डौ - ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर दौडमा एपीएफ क्लबका गोपी चन्द्र पार्की र वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले स्वर्ण पदक जितेका हुन् । गोपीले निर्धारित दूरी ८ मिनेट २९ दशमलव ५ सेकेण्डमा पूरा गरे । यस्तै आर्मीका मुकेश पालले रजत र आर्मीका दीपक अधिकारीले कास्य जितेका छन् । आर्मीका पालले शुक्रवार भएको १५ सय मिटर दौडमा स्वर्ण जितेका थिए ।

महिलातर्फ सन्तोषीले निर्धारित दूरी १० मिनेट ०६ दशमलव ७ सेकेण्डमा पूरा गरिन् । पुलिसकी राजपुरा पछाइले रजत र कर्णालीकी राममाया बुढाले कास्य हात पारिन् । सन्तोषीले यसअघि शुक्रवार १५ सय मिटर दौडमा समेत स्वर्ण जितेकी थिइन् । प्रतियोगितामा सात वटा प्रदेश र तीन विभागीय टोली गरी टोलीका २ सय ४० खेलाडी सहभागी छन् ।

प्रतियोगितामा ३१ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । यसअघि हिजो भएको ४ सय मिटर हर्डल्स तर्फ विभागित टोली त्रिभुवन आर्मीकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । उनले ४ सय मिटर हर्डल्समा निर्धारित दूरी १ मिनेट ०७ दशमलव २ सेकेण्डमा पार गरी राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

जयरानीले छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७ दशमलव ७ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । नेपाल एथलेटिक्स सङ्घको आयोजनामा प्रतियोगिता भैरहेको छ ।