असार १२, २०७९ आइतबार

काठमाडौं : काठमाडौं उपत्यकामा १२ जनालाई हैजा देखिएको स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताएका छन् । डिल्लीबजार, बागबजार, कपन, थानकोट, बल्खु, नैकाप, सानेपाललगायत स्थानमा हैजा देखिएको हो ।

गत असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो। उनीहरू दुबै जना बागबजारस्थित एकै परिवारका थिए।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणका लागि सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ।

हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न र गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने हुँदा सम्पूर्ण सरोकारवालाहरू सजग र सतर्क रहन भनेको छ।