कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिकाले विद्युतीय भुक्तानी (इ–पेमेन्ट) प्रणालीको सेवा सुरुवात गरेको छ । सेवाग्राहीलाई सहज ढंगले सेवा उपलब्ध गराउने अभियानअन्तर्गत नगरपालिकाले इ–पेमेन्ट सेवा सञ्चालनमा ल्याएको हो ।
नगरपालिकामा आइतवारदेखि इ–पेमेन्ट सेवा सुरु भएपछि चेक काट्ने, सही भिडाउने, टिप्पणी उठाउने जस्ता झन्झटबाट सेवाग्राही मुक्त हुने छन् ।
यसअघि आर्थिक प्रशासन शाखाबाट सेवाग्राहीलाई भुक्तानी गर्दा चेकमार्फत भुक्तानी गर्ने गरिएको थियो । जसबाट सेवाग्राहीलाई झन्झटसँगै समय पनि खेर गइरहेको हुन्थ्यो । अब भने त्यस्तो अवस्था आउँदैन, इ–पेमेन्टबाट सोझै सेवाग्राहीको खातामा रकम जान्छ ।
सेवाग्राहीले भनेको समयमा यसअघि अन्य कामहरूले गर्दा चेक नबन्ने अवस्था थियो । अब सेवाग्राहीले सम्पूर्ण कागजात पूरा गरेपछि सोझै सेवाग्राहीको खातामा रकम जानेछ । अब नगरपालिका आउन नपर्ने र कार्यालय तथा घरबाट नै सेवा लिन सकिने भएको छ । इपेमेन्ट सेवाले सेवाग्राहीलाई मात्रै सहज नबनाइ नगरपालिकाका सम्पूर्ण काम कारबाहीलाई पारदर्शी बनाउने विश्वास गरिएको छ ।