फागुन ७, २०७७ शुक्रबार

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका छन्।

शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पूरा गरेको बताएका हुन्।

फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरी मतदा स्थल र मतदान केन्द्रहरुको निधो गरिने उनको भनाइ छ। निर्वाचन सामाग्रीहरुको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको बताए।

उनले भने, ‘आउँदो निर्वाचनको शिलशिलामा पनि हामीले निर्वाचनको आन्तरिक तयारी लगभग पूरा गरेका छौँ। यही फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिनेछ। देशभरी मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिनेछ। त्यसलगत्तै हाम्रा निर्वाचनका कार्यक्रमहरु अगाडी बढ्नेछन्।’

निर्वाचनमा सामाजिक सञ्जाललाई प्रभावकारी ढंगले प्रयोग गर्नका लागि सामाजिक सञ्जाल सम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको पनि थपलियाले बताए।

उनले भने, ‘हामीले यो वर्ष निर्वाचनमा मिडिया क्षेत्रको भूमिका र विशेषत्ः सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढंगले प्रयोग गर्नुपर्छ भन्ने ध्येयले सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति नै तर्जुमा गरेका छौँ। रणनीति तर्जुमा गर्ने प्रक्रियामा छौँ।’

निर्वाचनका सामाग्रीको आन्तरिक बन्दोबस्त भइसकेको थपलियाको भनाइ छ। ‘बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको छ भने विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामाग्रीहरु तयार गरी अगाडी बढिराखेका छौँ’, उनले भने।

निर्वाचन कुनैपनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित नभइ र निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने कुरामा आयोग सधैँ अडिग रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।

निर्वाचन खर्चिलो र भड्किलो बन्दै गएको प्रति निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण भएको पनि उनले बताए। आगामी निर्वाचनलाई मितव्ययी बनाउनको निम्ति आयोग सचेत रहेको उनको भनाइ छ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको मुल ध्येय स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढंगले निर्वाचन सम्पन्न गराउने रहेको उल्लेख गर्दै निर्वाचनसँग सम्बन्धित संघसंस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरुको भूमिका अपरिहार्य रहेको बताए।

उनेले आगामी निर्वाचनमा अत्यन्त उल्लासमय वातावरणमा जागरुक भइ आफ्नो प्रतिनिधि छान्न आम मतदाता सरिक हुनेमा विश्वास समेत व्यक्त गरे।

निर्वाचन आयोगले फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ। नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते मतदाताहरुले आम निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकार प्रयोग गरेको दिनलाई स्मरण गर्दै वि.सं. २०७३ सालमा निर्णय गरी फागुन ७ गतेको दिनलाई निर्वाचन दिवस मनाउन थालिएको हो।