असार १३, २०७९ सोमबार

डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका-४ गाइमारेमा घाइते अवस्थामा फेला परेका छन्। उनी भीरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका हुन्।

सोमबार उनीमाथि केही व्यक्तिले आक्रमण गरी ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको बताइएको छ।

भण्डारी स्वयंमले स्थानीयलाई बताएअनुसार ४/५ जनाको समूहले उनीमाथि आक्रमण गरेका थिए। 


उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए। स्थानीयले  उनको उद्धार गरेर प्रहरीलाई खबर गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले बताए।

अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ। तीन जना मान्छेले घुमाउन लगिदेऊ भनेर गोदावरीको उकालोतिर भण्डारीलाई लगी कुटपिट गरी बाँधेर फालेको र उनको गाडी र पैसा लुटेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

भण्डारीलाई उपचारका लागि धनगढी ल्याइन लागिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।