काठमाडौँ, १३ असार । घुसकाण्डमा मुछिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।
कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङको मुद्दामा घुसको लेनदेन मिलाउने विषयमा भएको अडियो टेप बाहिरिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको हो ।
घटनाको छानबिनका लागि न्यायपरिषद्को बैठकले समिति नै बनाएको छ । न्यायपरिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिले ४५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।
घुसकाण्डमा न्यायाधीश कोइरालाले आफूले घुस अस्वीकार गरेको दाबी गरेका छन् । अधिवक्ता पोखरेलले पनि छानबिनको माग गर्दै आफूले घुस लेनदेन नगरेको दाबी गरेका छन् ।