चैत २१, २०७७ शनिबार

कोरोना भाइरस महामारीको तेस्रो लहरको सामना गरिरहेको इटालीमा इस्टरलाई लक्षित गरेर तीन दिने लकडाउन लागु भएको छ।

इस्टर पर्वका अवसरमा हुन सक्ने भेटघाट तथा पारिवारिक कार्यक्रमका कारण संक्रमण थप तीव्र हुन सक्ने भन्दै इटालीले देशभर नै तीन दिने लकडाउन घोषणा गरेको हो।

इटाली सरकारले देशभरलाई ‘रेड जोन’ अर्थात प्रतिबन्धात्मक उपायको उपल्लो तह लागु गरेको छ। अहिले त्यहाँ दैनिक २० हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुने गरेको छ। नयाँ नियम अनुसार अत्यावश्यक बाहेकमा यात्रामा प्रतिबन्ध लागेको छ। मानिसहरुले आफ्नो घरमा अरु दुईजनासहित इस्टरको भोजन गर्न भने पाउने छन्।

चर्चहरु पनि खुला छन्, तर आफ्नो क्षेत्रमा रहेको चर्चमा मात्रै प्राथर्ना गर्न पाइने छ । दोस्रो वर्ष पोप फ्रान्सिसले खाली सेन्ट पिटर्स स्क्वायरबाट आफ्नो इस्टर सन्देश दिने छन्।

युरोपका देशहरुमा संक्रमण तीव्र भइरहेको तथा खोप अभियानको सुस्त गतिका बिच इटालीमा कडा प्रतिबन्ध लागु भएको हो। अहिलेसम्म इटालीमा एक लाख १० हजार ३२८ भन्दा धेरैको कोभिड–१९ बाट ज्यान गएको छ। यस्तै अहिलेसम्म ३६ लाख २९ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ।

इटालीमा गएको बिहीबार एकै दिन २३ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको थियो भने ५०१ जनाको कोभिड–१९ का कारण मृत्यु भएको थियो। लकडाउनको नियम अनुसार अत्यावश्यक बाहेकका पसलहरु बन्द भएका छन्।

रेस्टुरेन्टहरुले डेलिभरी सेवा मात्रै प्रदान गरेका छन्। यात्रा प्रतिबन्ध लागु भएको भए पनि इस्टरका बेला आफ्नो क्षेत्र भित्रै भने मानिसहरु आफन्तलाई भेट्न जान पाउने छन्। आइतबार ९अप्रिल ४० इस्टर मनाईँदै छ।

तस्बिरहरु: इपिए र रोयटर्स