चैत २१, २०७७ शनिबार

कोरोना भाइरसविरुद्धको खोपको पूरा डोज लगाएका व्यक्ति पारिवारिक भेटघाट तथा व्यवसायिक प्रयोजनका लागि यात्रा गर्न सक्ने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले जनाएको छ।

सिडिसीले शुक्रबार नयाँ गाइडलाइन जारी गरि खोप लगाएका व्यक्तिहरु सुरक्षित रुपमा बिदा मनाउनका लागि जान सक्ने पनि जनाएको हो।

सिडिसीका अनुसार खोपको पूर्ण मात्रा लगाएका व्यक्तिहरु बिना परीक्षण तथा यात्रापछि क्वारेन्टिनमा बस्नु पर्ने बाध्यता बिनै आन्तरिक यात्रामा निस्कन सक्ने छन्। तर यस्तो यात्रा गर्दा मास्क लगाउने तथा सकेसम्म भिडभाडबाट टाढा रहने सावधानी भने अपनाउनु पर्ने सिडिसीले उल्लेख गरेको छ।

खोपको पूर्ण मात्रा लगाएका व्यक्तिमा संक्रमणको जोखिम कम हुने भए पनि अहिले संक्रमण बढ्दो क्रममा रहेकाले सावधानी बिनाको यात्रा कुनै पनि अवस्थामा उपयुक्त नरहेको सिडिसीले जनाएको छ। सिडिसीका अनुसार स्थानीय समय अनुसार शुक्रबार बिहानसम्म १५ करोड ७६ लाख ६ हजार ४६३ अमेरिकीले कोरोना भाइरसविद्धको खोप लगाएका छन्।

सिडिसीका अनुसार अमेरिकामा अहिले मोदेर्ना, फाइजर–बायो एन टेक र जोन्सन एण्ड जोन्सनको खोप लगाइएको छ। १० करोड १८ लाख चार हजार ७६२ जनाले खोपको कम्तीमा एक जोड लगाएका छन्। यस्तै पाँच करोड ७९ लाख ८४ हजार ७८५ जनाले खोपको पूरा मात्रा लगाएका छन्।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या तीन करोड ६० लाख ६ हजार ६४९ पुगेको छ। अहिलेसम्म कोभिड–१९ बाट पाँच लाख ५४ हजार ६९ अमेरिकीको ज्यान गएको छ।