नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका ईन्जिनियर सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् ।
ती ठाउँमा यसवर्ष पहिरो खसेर दुःख दिइरहेका छन् । तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिनतर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ । त्यहाँ पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले जानकारी दिए । त्यसका अतिरिक्त सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेका छन् । ती १७ ठाउँमा गत वर्ष पहिरो खसेको थियो ।
कतिपय ठाउँमा सुख्खा पहिरो समेत खसेर दुःख दिएको कार्की बताउँछन् । राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी सवारीसाधन आवागमन गर्ने गर्दछन् । सडक पुनःनिर्माणको काम सकिए पनि सडक माथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले सडक विस्तार र पुल निर्माणको काम एकै पटक नहुँदा समस्या भएको बताए ।