असार १५, २०७९ बुधबार

बुधबार बिहान काठमाडौं गौशाला चोकको एउटा तस्बिर भाइरल भयो । त्यो तस्बिरमा दुई जना मोटरसाइकल चालक ट्राफिक जाममा रोकिएका थिए। त्यो तस्बिरमा दुईवटा बाइकका सवारी चालकले एक अर्काको नम्बर प्लेट हेर्दै गरेको देखिन्छ। 

दुबै मोटरसाइकलको एउटै नम्बर प्लेट देखेपछि उनीहरूले एकअर्काको नम्बर प्लेट हेरेका हुन्। 

दुबै मोटरसाइकलमा बागमती प्रदेश-०२-०२२ प २३८० नम्बरको प्लेट छ। सामाजिक सञ्जालमा आएपछि यसबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान गरेको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासका अनुसार यो तस्बिर बाहिरिएपछि कार्यालयले दुबै मोटरसाइकल खोजेको हो। 

एउटा मोटरसाइकलका चालक भने सम्पर्कमा आइसकेका छन्। एनएस प्लसरका चालक ट्राफिक प्रहरी कार्यालयमा छन्। 

उनको कागजात हेर्दा भने सबै ठीकै भएको उनले बताए। 

उनका अनुसार अर्को मोटरसाइकल भने भक्तपुरतर्फ गएको सिसिटिभीमा देखिएको छ। 

उक्त मोटरसाइकल चालकको पनि खोजी भइरहेको कार्यालयले जनाएको छ। उनी पनि सम्पर्कमा आइसकेपछि मात्रै के भएको हो भन्ने बुझिने प्रहरी उपरीक्षक दासले बताए।