असार १५, २०७९ बुधबार

निजगढ विमानस्थलसम्बन्धी फैसलामा सर्वोच्च अदालतका न्यायाधीशहरूबीच मत बाझिएको छ ।

५ न्यायाधीशले गरेको फैसलामा न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्माले निजगढमै विमानस्थल बनाउन सकिने राय दिएका छन् ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतले निजगढको विकल्प खोज्नु पर्ने राय दिएको सर्वोच्च स्रोतले जानकारी दियो ।

सर्वोच्च अदालतको पूर्ण इजलासले जेठ १२ गते गरेको फैसलाको पूर्णपाठमा न्यायाधीशहरूको राय बाझिएको हो । त्रिभुवन विमानस्थलको विकल्पमा बाराको निजगढमा विमानस्थल बनाउन राज्यको तर्फबाट तीन अर्ब खर्च भइसकेको छ । 

निजगढको टाँगियाबस्ती आसपासमा विमानस्थल बनाउँदा वातावरणीय क्षति हुने भन्दै अभियन्ताहरूले विरोध गर्दै आएका थिए । सर्वोच्चको आदेशलाई राजनीतिक दलका नेताहरूले ‘विकास विरोधी फैसला’ भन्दै विमानस्थल निर्माणको काम नरोकिने बताउँदै आएका छन् ।