नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन्।
नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा उपस्थित भएका वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताए।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए। उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौँ।’
सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका तीन दलको बीचमा वार्ता गरी समझदारी बनाइ सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनको भनाइ छ।
उनले भने, ‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमनविरुद्धमा संघर्ष गरेका र पुनःस्थापनाका लागि आवाज उठाएका तीनवटा दलको बीचमा पहिले हामी वार्ता गर्छौँ, समझदारी बनाउँछौँ र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौँ।’
उनले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताए। तर यस विषयमा अन्य दलहरुसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि स्पष्ट पारे।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेसन समयमै हुने पनि बताए। महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेसन सम्पन्न गरिने बताए।
उनले भने, ‘महाधिवेशन हुन्छ, समयमै हुन्छ। नेपाली कांग्रेसको महाधिवेसन भदौमा हुन्छ, गर्नै पर्छ, नगर्दाखेरी त हाम्रो पार्टीको अस्तित्व समाप्त हुन्छ।’
जनता समाजवादी पार्टी नेपालका माग पूरा गर्न कांग्रेस प्रयासरत रहेको पनि वरिष्ठ नेता पौडेलले बताए। उनले भने, ‘जनता समाजवादीका नेताहरुसँग हामी कुरा गर्छौँ। उहाँहरुका माग पुरा गर्नलाई हामी प्रयास गर्छौँ।’