नेपाल व्यापार सङ्घले व्यावसायिक कर समान गर्न नवनिर्वाचित जनप्रतिनिलाई आग्रह गरेको छ ।सङ्घले आइतबार साँझ आयोजना गरेको काठमाडौँ महानगरपालिका १७, २२, २४, २५ र २७ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीले पार्किङ समस्या समाधानदेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या समाधान गर्न जनप्रतिनिधिको सधैँ साथ र समर्थन रहने बताए ।
अध्यक्ष महर्जनले आफ्नो वडाले व्यवसायीबाट वार्षिक रु १२ करोडभन्दा बढी रकम राजस्व उठाउने गरेको बताउँदै यस क्षेत्रको समस्या समाधानका लागि पनि वडाले खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले व्यवसायीका समस्या समाधानका लागि बेलाबेलामा जनप्रतिनिधिलाई खबरदारी गर्नसमेत आग्रह गरे। न्यूरोड क्षेत्रको पार्किङको समस्या समाधानका लागि वडा कार्यालय लागिरहेको उनको भनाइ थियो । काठमाडौँ महानगरपालिका–२५ का वडाध्यक्ष राजेश डङ्गोलले व्यवसायीको लगानीको सुरक्षा गर्न स्थानीय सरकार कटिबद्ध भएर लाग्ने बताए ।
काठमाडौँ महानगरपालिका–२७ का वडाध्यक्ष योगेशकुमार खड्गीले आफूहरुले कार्यपालिका बैठकमा काठमाडौँको पार्किङ, घरभाडालगायतका व्यवसायीको समस्याको बारेमा आवाज उठाइसकेको बताए ।
सङ्घका अध्यक्ष कुमार कार्कीले न्यूरोड क्षेत्रमा व्यवसायी र घरबेटीबीच भाडा, बिजुली, ढल, बिजुली तथा इन्टरनेटको तारलगायतको समस्या रहेको जनाउँदै उक्त समस्या समाधानका लागि स्थानीय सरकारलाई आग्रह गरे ।